गृहपृष्ठ खबर केही दिन सरकारको खर्च रोकिन सक्छ- अर्थ मन्त्री शर्मा

केही दिन सरकारको खर्च रोकिन सक्छ- अर्थ मन्त्री शर्मा

प्रकाशित मिति:

काठमाण्डौ : विनियोजन विधेयक २०७८ पारित नभएपछि सरकारले राज्य कोषबाट भोलि बुधवारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थ मन्त्री जनार्दन शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिनुभयो ।

नेपालमा सरकारको खर्च नै रोकिन लागेको सम्भवतः यो पहिलो पटक हो । अर्थशास्त्रीय भाषामा यसलाई ‘बजेट होलिडे’ का रूपमा लिइन्छ । अघिल्लो सरकारले अध्यादेशबाट गएको जेठ १५ गते चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । अध्यादेशबाट ल्याइएको बजेट गएको साउन ४ गते सङ्घीय संसदमा पेस भएको थियो ।

अध्यादेश ६० दिनभित्र पारित गर्नुपर्ने प्रावधान छ । त्यस आधारमा भोलि बुधवारसम्म विनियोजन विधेयक पारित गरिसक्नुपर्ने थियो । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलले निरन्तर अवरोध गरिरहेको छ । आज विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मात्रै स्वीकृत भएको छ । अर्थ मन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिँदै नियमित प्रक्रियाबाटै बजेट पारित गरिने बताउनुभयो ।

सम्बन्धित् समाचार