गुल्मी : एमाले विभाजन भए पनि दुई खेमाबाट चिनिएका जिल्लाका प्रभावशाली नेताहरु एउटै मञ्चमा देख्दा गुल्मीका नेता, कार्यकर्ता उत्साहित भएका छन्। नेकपा एमालेका सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई पार्टी विभाजनपछि गुल्मेली कार्यकर्ताले बुधबार तम्घासमा आयोजित कार्यक्रममा एउटै मञ्चबाट सम्बोधन गरे।
कार्यकर्ता भेलालाई सम्बोधन गर्न दुवै नेता गृह जिल्ला आएका हुन्। ज्ञवाली केपी शर्मा ओली निकट र विष्ट माधवकुमार नेपाल खेमामा देखिएका थिए। माधव नेपालले एमाले छाडेर नेकपा समाजवादी बनाए पनि विष्ट उनको पार्टीमा गएनन्। जिल्लाका नेता, कार्यकर्ताहरु नेता विष्ट समाजवादीमा जाने हुन् कि रु भन्ने चिन्तामा थिए। कार्यकर्ताको मनोभावना अनुसार विष्टले एमाले छाडेनन्।
नेता, कार्यकर्ताको चाहना नेता ज्ञवाली र विष्टको एकता नटुटोस् भन्नेमै थियो। दुई प्रभावशाली नेता एकै थलोमा भएपछि गुल्मीमा पार्टी फुटको असर परेको छैन। १२ वटा स्थानीय तहमा रहेका जनप्रतिनिधी सबै एमालेमा छन्। रामकुमारी झाक्रीको समेत गृह जिल्ला गुल्मी भए पनि उनको प्रभाव देखिंदैन्।
‘दुई नेता एकै ठाउँमा भएको देख्दा हामी उत्साहित छौँ’,एमालेका नेता एवं जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले भने,‘गुल्मीमा एमाले फुटेको असर परेको छैन।’
कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवाली र विष्टले कार्यकर्तालाई ढुक्क भएर पार्टीमा क्रियाशील हुन् आग्रह गरे। ‘तपाईंहरुको कारणले पार्टी फुटबाट जोगिएको छ। हामीहरुबीच पार्टीमा बहस हुँदा केही मुद्दामा छलफल बहस होला तर पार्टीलाई अहित हुने गरी कसैले कदम चाल्नु हुँदैन’,नेता विष्टले भने,‘पार्टीको एकतालाई अझ बोलियो बनाएर अघि बढ्नुपर्छ, गुटमा रहेर तलदेखि माथिसम्म विभाजित हुनु आवश्यक छैन।’ एमाले सरकारमा हुँदा गरेका जनपक्षीय कामले पनि जनताहरु एमाले छाड्न नचाहेको नेता प्रदीप ज्ञवालीले सुनाए।








