गृहपृष्ठ खबर अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात

अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात

काठमाडौँ : अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात भएको छ । प्रविधि व्यवसायी एलन मस्कको कम्पनी स्पेस एक्सले बुधबार ४ जनालाई अन्तरिक्ष पर्यटकको रुपमा अन्तरिक्षमा लगेसँगै अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात भएको हो ।

स्पेस एक्सले इन्सपिरेसन-४ मिसनअन्तर्गत अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट चारजनलाई अन्तरिक्ष यात्राका लागि बुधबार पठाएको हो ।

स्थानीय समय अनुसार बुधबार राति ८ बजे स्पेस एक्सको रकेटमार्फत उनीहरुलाई अन्तरिक्षमा पठाइएको हो । यो मिसनमा ३८ वर्षिय अर्बपति जेरेड इज्याकम्यानले लगानी गरेका छन् । यो मिसन पर्यटनका हिसाबले अन्तरिक्षमा उडान गरिएको स्पेस एक्सले जनाएको छ ।

यो मिसनमा २९ वर्षीया हेले अर्सेनियूस, ५१ वर्षीया सियान प्रोक्टर र ४२ वर्षीय क्रिस सेमब्रोस्की छन् । अर्सेनियूस हेलेले बाल अवस्थामा क्यान्सरलाई जितेकी हुन् । उनी हाल सेन्ट ज्युड अस्पतालमा फिजिसियनका रूपमा कार्यरत छिन् । उनी इजाकम्यानको अनुरोधमा यो यात्रामा सहभागी भएकी हुन् ।

सियान प्रोक्टर भौगर्भविद् हुन् । उनी एक सामुदायिक क्याम्पसमा पनि पढाउँछिन् । प्रोक्टरले सामाजिक सञ्जालमार्फत अन्तरिक्ष यात्राका लागि अवसर पाएकी हुन् । क्रिस सेमब्रोस्की भने लकहिड मार्टिन कम्पनीका कर्मचारी हुन् ।

सम्बन्धित् समाचार