गृहपृष्ठ खबर आइसिसी विश्वकप लिग-२ : नेपालले ओमानलाई ७ विकेटले हरायो

आइसिसी विश्वकप लिग-२ : नेपालले ओमानलाई ७ विकेटले हरायो

प्रकाशित मिति:

काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ। आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गरेको हो।

लिग-२ मा ओमानसँग यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित हात पार्न सफल भएको हो।आइतबार ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १८.२ ओभरमै पूरा गर्‍यो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। उनले नटआउट ५२ रन जोड्ने क्रममा ४६ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे। ज्ञानेन्द्रले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन्। उनले अमेरिकाविरुद्धको अघिल्लो खेलमा ५५ रन जोडेका थिए।

ओपनर कुशल भुर्तेल ६ रनमा आउट हुँदा आसिफ शेखले ४० रनको योगदान गरे। आसिफले ४४ बलमा ७ चौका प्रहार गरे।

रोहित पौडेल ६ रनमा आउट हुँदा शरद भेषवाकरले नटआउट १ रन जोडे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भएको थियो ।

सम्बन्धित् समाचार