काठमाडौं : सरकारले आज बजेट पास गर्ने आन्तरिक तयारी गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधका बीच सोमबार ११ बजेका लागि डाकिएको संसद बैठकमा अर्थमन्त्रीले आर्थिक ऐनहरु प्रस्तुत गर्ने छन्।
केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले नयाँ कार्यक्रमसहित संशोधन विधेयक ल्याएको थियो। चार दिनअघि नै पास हुनु पर्ने बजेट पास नहुँदा अहिले सरकारले एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन।
यदि आज पनि बजेट पारित गर्न नसके सरकारको समस्या अझ बढ्ने छ। अहिले कर्मचारीलाई तलव भत्ताका साथै दसैं बोनस दिने बेला भइसकेको छ। विकास निर्माणका कामका लागि ठेकेदारहरुलाई पनि भुक्तानी दिनु पर्ने छ। बृद्धभत्ता, पेन्सनलागयत अन्य सामाजिक सुरक्षा भत्ता पनि रोकिएको छ।
सोमबारको बैठकमा सत्ता पक्ष जसरी पनि बजेट पारित गराउनु पर्ने दबावमा छ भने विपक्षी रोकेर सरकारलाई असफल बनाउने पक्षमा छ।