गृहपृष्ठ खबर देउवाले एकलौटी मन्त्री नियुक्ती गरेको भन्दै पौडेल पक्षले बोलायो बैठक

देउवाले एकलौटी मन्त्री नियुक्ती गरेको भन्दै पौडेल पक्षले बोलायो बैठक

प्रकाशित मिति:

काठमाडौं : यतिबेला नेपाली कांग्रेस सत्ता गठबन्धनको नेतृत्व गरिरहेको छ। प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा छन्। प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको ७२ औं दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

सर्वोच्च अदालतको परमादेशपछि असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले त्यतिबेला मिनि मन्त्रिपरिषद् बनाए। जसमा कांग्रेसबाट दुई जना र माओवादीबाट दुई जना मन्त्री बनेका थिए। यसरी मन्त्री बन्नेमा कांग्रेसबाट गृहमा बालकृष्ण खाण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की हुन्। दुबै देउवा पक्षका नेता हुन्। यसैगरी देउवाले केही समयपछि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरे। उनी पनि देउवा पक्षकै नेता हुन्।

मंगलवार सत्तारुढ गठबन्धनको बैठकबाट डा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भयो। र खड्का बुधवार नै मन्त्री बने। उनी पनि देउवा पक्षकै नेता हुन्। यसरी देउवाले सत्ता गठबन्धनमा पार्टीको भागमा पर्ने मन्त्रालयमा विस्तारै अफ्नै पक्षका नेताहरुलाई जिम्मेवारी दिँदै लगेका छन्। खड्का मन्त्री भएसँगै कांग्रेसको कोटाबाट मन्त्री बन्नेको संख्या प्रधानमन्त्रीसहित पाँच जना पुगेका छन्।

देउवाको यो कुटिल चालबाट संस्थापनइतरका नेताहरु पनि सशंकित हुन थालेका छन्। विशेषगरी वरिष्ठ नेता रामचन्द्र पौडेल देउवाको कदमबाट सन्तुष्ट छैनन्। यही विषयमा छलफल गर्न पौडेललगायत नेताहरु दिउँसो १ बजे भेला हुँदैछन्। कांग्रेस महामन्त्री डा शशांक कोइराला निवासमा नेताहरु भेला हुन लागेका हुन्।

यसो त ३ बजेका लागि देउवाले आफ्नो निवास बुढानिलकण्ठमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकसमेत डाकेका छन्। बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि पौडेललगायतका नेताहरुबीच छलफल हुने बताइएको छ।

सम्बन्धित् समाचार