गृहपृष्ठ खबर सत्ता गठबन्धनभित्र गृहकार्य तीव्र

सत्ता गठबन्धनभित्र गृहकार्य तीव्र

काठमाडौं : मन्त्रिमण्डल विस्तारको गृहकार्य तीव्र रुपमा अघि बढाइएको छ। सोमबारको मन्त्रिपरिषद्को बैठक एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनितिक दल सम्बन्धी अध्यादेश खारेज गरेसँगै सत्ता गठबन्धनका नेताहरु मन्त्रीको नाम टुंग्याउन व्यस्त छन्।

गठबन्धनका नेताहरुका अनुसार यहि साताभित्रै मन्त्री मण्डल विस्तार गर्ने तयारी छ। सत्तारुढ गठबन्धनको सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलहरुसँग मन्त्रीको नाम मागेका थिए। नेकपा माओवादी केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश खारेज गरेर यथाशिघ्र मन्त्रीमण्डल विस्तारलाई अघि बढाउने निर्णय गरेको थियो। जनता समाजवादी पार्टीले पनि राजनतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेजको माग गर्दै आएको थियो।

जसपाले अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद्मा सामेल नहुने अडान राख्दै आएको थियो। अध्यादेश क्रियाशील हुँदा आफ्नो पार्टी जोखिममा रहेको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री देउवासँग अध्यादेश खारेजका लागि दवाव दिँदै आएका थिए। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणी चौधरीले छिट्टै सरकार गठनले पूर्णता पाउने जानकारी दिए।

एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ। एकीकृत समाजवादीमा आवद्ध भएका १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट विचाराधीन अवस्थामा छ। कांग्रेसले प्रधानमन्त्रीबाहेक सात मन्त्रालय आफ्नो भागमा हुनुपर्ने अडान राखेको छ। अन्य दलहरुले प्रधानमन्त्रीसहित कांग्रेसलाई ७, माओवादी, एकीकृत समाजवादी र जसपालाई ५/५ मन्त्रालय र १/१ राज्य मन्त्री दिनुपर्ने अडान कायम राखेका छन्।
हालसम्म काग्रेंसको तर्फबाट गृह मन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बनेका छन्। यस्तै, माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा, उर्जा मन्त्री पम्फा भुषाल बनेका छन्। जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम अझै टुंग्याएको छैन। राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन जनाएपनि मन्त्रिमण्डलमा सहभागी नहुने बताउँदै आएको छ।

गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्। सत्ता गठबन्धन भित्र मन्त्रालय बाँडफाड र गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरहँदा देउवाले कस्तो मन्त्रिमण्डल बनाउँछन् भन्ने आमचासो रहेको छ।

सम्बन्धित् समाचार