गृहपृष्ठ खबर ईपीएलमा पोखरा राइनोज विजयी

ईपीएलमा पोखरा राइनोज विजयी

काठमाडौं : साविक विजेता ललितपुर प्याट्रिओट्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा दोस्रो हार बेहोरेको छ । वर्षाका कारण दुई दिनदेखि प्रभावित बनेको ईपीएलमा बुधबार पोखरा राइनोज र ललितपुरबीच पहिलो खेल भएको थियो । ७ ओभरमा छोट्याइएको खेलमा पोखराले ललितपुरलाई ९ विकेटले पराजित गरेको हो ।

ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६‍।३ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गर्‍यो । पोखराका लागि ओपनर रिचर्ड लेभीले २२ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा अविजित ३८ रन बनाए । रित गौतमले १२ रन जोडे । ललितपुरका अज्जतुल्लाह ओमारजाईले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो । पोखराका फास्ट बलरले उत्कृष्ट बलिङ गरेपछि ललितपुरले शुरुवातदेखि नै विकेट गुमाएको थियो । ललितपुरका लागि सन्दुन विराकोडीले सर्वाधिक १९ रन बनाए भने नारायण जोशीले ११ रन जोडे । ओशादा फर्नान्डो १० रनमा अविजित रहे ।

पोखराका लागि नन्दन यादवले ३ तथा विक्रम सोबले २ विकेट लिए । २ ओभर बलिङ गर्दा दुवैले समान ११ रन खर्चिए । केज्रिक विलियम्सले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

पहिलो खेलमा भैरहवासँग अंक बाँडेको पोखरा पहिलो जितपछि २ खेलबाट ३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लेको छ । ललितपुर २ हारबाट अंकविहीन हुँदै पुछारमा छ ।

सम्बन्धित् समाचार