गृहपृष्ठ खबर नेपालमा पहिलोपटक मातृ मृत्युदरबारे अध्ययन हुँदै

नेपालमा पहिलोपटक मातृ मृत्युदरबारे अध्ययन हुँदै

काठमाडौं : नेपालमा पहिलो पटक मातृ मृत्युदरबारे अध्ययन गर्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृ मृत्युदरबारे अध्ययन गर्न थालेको हो। मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ जनगणनासँगै मातृ मृत्युदर बारे अध्ययन गर्न लागेको हो।

मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले प्रजनन उमेर समूहका महिलाको मातृ मृत्युदर पत्ता लगाउन र सुरक्षित मातृत्व सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउनका लागि अध्ययन गर्न थालिएको जानकारी दिए। अध्ययन गर्नका लागि स्वास्थ्यकर्मीलाई यही असोज ४ गतेदेखि कात्तिक १० गतेसम्म संघीय, प्रादेशिक र जिल्लास्तरमा प्रशिक्षक प्रशिक्षण र मौखिक परीक्षण गर्ने स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिइन थालिएको छ।

मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको सहकार्यमा हुन लागेको यो अध्ययनमा जनगणनाका गणकले कुनै घरपरिवारमा गत १२ महिनामा १५ देखि ४९ वर्षको महिलाको मृत्यु भए नभएको यकिन गर्नेछन्। नेपालमा नै पहिलो पटक गर्न थालिएको अध्ययनमा पहिलो चरणमा जनगणना गर्दा मातृ मृत्युदर भएका सङ्ख्या पत्ता लगाउने र त्यसपछि ती पत्ता लगाइएका मातृ मृत्युको कारण पत्ता लगाउन पुनः दोस्रो चरणमा सम्पूर्ण विवरण लिइने छ।

अध्ययनका लागि ८४७ जना सर्वेक्षक परिचालन गरिने छ । नेपालमा सन् २०१६ को मातृ मृत्यु अनुपात २३९ रहेकोमा दिगो विकास लक्ष्य अनुरुप सन् २०३० मा ७० मा झार्ने लक्ष्य लिइएको छ। प्रजनन उमेर समूहका महिलाको मृत्युमध्ये १२ प्रतिशत मातृ मृत्यु रहेको पाइन्छ। -रासस

सम्बन्धित् समाचार