आफ्नो राष्ट्रिय दिवसका दिन माल्दिभ्सले साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशलाई बिहीबार राति २–० ले हराएर प्रतियोगितामा पुनर्आगमन गरेको छ । माल्दिभ्स आफ्नो पहिलो खेलमा नेपालसँग पराजित भएको थियो र बंगलादेशविरुद्धको खेल पनि गुमाएको भए, प्रतियोगिताबाट बाहिरिने अवस्थामा हुने थियो ।
तर शानदार पुनर्आगमन रच्ने क्रममा माल्दिभ्सका लागि हाम्जा मोहम्मदले ५५ औं मिनेटमा पहिलो गोल गरे र यो उत्कृष्ट रह्यो । बंगलादेशी पेनाल्टी एरियामा उनले ओभरहेड किकको मदतले आकर्षक गोल गरे । त्यसपछि अलि अस्फाकले पेनाल्टीबाट ७४ औं मिनेटमा दोस्रो गोल थपे र टिमको जित निश्चित गरे ।
खेलपछि आयोजित पोस्ट म्याच कन्फेरेन्समा माल्दिभ्सका प्रशिक्षक अलि सुजेनले बंगलादेशविरुद्धको खेलमा आफ्नो टिमका लागि जित एक मात्र विकल्प रहेको बताउँदै यो जित आफ्नो देशका जनताका लागि राष्ट्रिय दिवसको उपहार भएको बताए । उनले अब आफ्नो टिम फेरि एकपल्ट फाइनल प्रवेशका लागि बलियो प्रत्यासी भएको पनि माने ।
बंगलादेश भने हारपछि दबाबमा आएको छ । तर उसको पनि फाइनल प्रवेशको सम्भावना जीवन्त छ । बंगलादेशी प्रशिक्षक ओस्कार ब्रुजोनले आफ्नो टिम लगातार खेलेर थाकेको बताए । उनले माल्दिभ्सविरुद्धको खेलमा आफ्नो टिम कमजोर रहेको पनि माने । अब बंगलादेशले आफ्नो अन्तिम खेलमा नेपालको सामना गर्नेछ ।
दिनको पहिलो खेलमा श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा नेपाल दुई खेलबाट छ अंकसहित शीर्ष स्थानमा छ । अब नेपालले आइतबारको खेलमा भारतको सामना गर्नेछ । त्यही दिन माल्दिभ्सले श्रीलंकाविरुद्ध खेल्नेछ ।
यही चरणको खेलले फाइनल पुग्ने दुई टिमको समीकरण तयार पार्न मदत गर्नेछ । बंगलादेश चार अंकमा दोस्रो स्थानमा छ भने माल्दिभ्सको तीन अंक भएको छ । त्यसपछि भारत दुई अंकमा छ । श्रीलंका भने एकै अंकमा मात्र सीमित छ र उसको प्रतियोगितामा चुनौती समाप्त भइसकेको छ ।