गृहपृष्ठ खबर यो वर्ष दसैँ मनाउन काठमाडौंबाट बाहिरिनेको संख्या बढ्ने

यो वर्ष दसैँ मनाउन काठमाडौंबाट बाहिरिनेको संख्या बढ्ने

प्रकाशित मिति:

काठमाडौं : यो वर्ष दसैँलगायत चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या अघिल्लो वर्षको तुलनामा उत्साहजक हुने अनुमान गरिएको छ । ११ असोजमा अग्रिम टिकट खुलाउँदा नयाँ बसपार्क, कोटेश्वर, चाबहिल, कलंकीलगायतका ठाउँबाहेक खासै भिड देखिएको थिएन । तर, कोरोना महामारीका कारण अघिल्लो वर्षको जस्तै थोरैले मात्र काठमाडौं छोड्ने अनुमान गरिएको थियो ।

तर, यातायात व्यवसायीले गरेको अनुमानविपरीत पछिल्लो एक हप्ता टिकट काट्नेको उत्साहजनक सहभागिता रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार असोज लागेपछि मात्र उपत्यकाबाट करिब तीन लाख मानिस बाहिरिएका छन् । बुधबार ९घटस्थापनाको अघिल्लो दिन०देखि भौतिक रूपमा सञ्चालन थालिएका शैक्षिक संस्थाहरूसमेत बिदा दिन थालिएको छ । यसले गर्दा पनि भिड बढ्दै गएको व्यवसायीहरूको भनाइ छ । यो वर्ष अझै न्यूनतम पाँचदेखि सात लाख थप मानिस घर फर्कने सम्भावना रहेको महासंघको अनुमान छ ।

नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय कम्पनीका महाप्रबन्धक सुनील कुँवरले पनि दिनदिनै टिकट काट्नेको संख्या वृद्धि हुँदै गएको जानकारी दिए । अहिलेसम्म नियमितबाहेक ५० हजारभन्दा धेरैले अग्रिम टिकट लिइसकेका छन् । ‘यो संख्या पछिल्ला तीन दिनमा ह्वात्तै बढेको छ,’ उनले भने । यो संख्या अघिल्ला वर्षहरूको भन्दा धेरैचाहिँ नभएको महाप्रबन्धक कुँवरको भनाइ छ ।

यसअघि घटस्थापनाभन्दा १० दिनअघि ११ असोजमा यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाउन खोज्दा यातायात व्यवसायीले विरोध गरेका थिए । उनीहरूले घर जाने यात्रु नै हुँदैनन्, किन अग्रिम टिकट खुलाउनुपर्‍यो भन्दै अग्रिम टिकट खुलाउन अनिच्छुक देखिएका थिए । तर, पछिल्ला दिनमा देखिएको भिडले यातायात व्यवसायीसमेत उत्साहित भएका छन् । बिहीबार मात्र नयाँ बसपार्क, कलंकी, चाबहिल, कोटेश्वरलगायतका ठाउँमा टिकट काट्नेको लामो लाइन देखिन्थ्यो । यातायात व्यवसायीले आवश्यकताअनुसार नयाँ सवारीसाधन पनि थप्ने तयारी रहेको जानकारी दिएका छन् ।

सम्बन्धित् समाचार