काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री भागबण्डामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पेलेरै जाने नीति अख्तियार गरेका छन्। पछिल्लो छलफलमा कोटाअनुसार तीन मन्त्री पाउनुपर्ने निरन्तर माग गर्दै वरिष्ठ नेता पौडेलले असन्तुष्टि जनाएका थिए।
बुधवार बालुवाटारमा भएको पदाधिकारी बैठकमा पौडेलले तीन मन्त्री नदिए आफूले नाम दिन नसक्ने भन्दै चर्काचर्की गरेर फर्किएका थिए। त्यसको दुई दिनपछि देउवाले धेरैजसो आफूपक्षका नेता तथा सांसद्हरुलाई मात्र मन्त्री बनाएका छन्।
देउवा मन्त्रिमण्डलमा मन्त्री बन्नेहरु अधिकांश संस्थापन पक्षकै छन्। देउवाले आफू प्रधानमन्त्री बनेकै बेला बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री बनाए। दुबै देउवा पक्षका हुन्। पछि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्री बनाए। श्रेष्ठ पनि देउवा पक्षकै हुन्।








