गृहपृष्ठ खबर ईपीएलको उपाधि चितवनले जित्यो

ईपीएलको उपाधि चितवनले जित्यो

प्रकाशित मिति:

काठमाडौँ : भीम सार्कीले अर्धशतक बनाएपछि चितवन टाइगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । चितवनले पहिलोपटक उपाधि जितेको हो । चितवनले शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको हो ।

चितवनले टस जितेपछि ब्याटिङमा आएको पोखराले १७।५ ओभर खेली १ सय २१ रनमा अलआउट भएको थियो । भीमले ४४ बलमा ६३ रन बनाएपछि चितवनले १५.५ ओभरमै लक्ष्य पुरा गर्‍यो । उनले ७ चौका र २ छक्का प्रहार गरे । भीम आउट भएपछि आएका कप्तान सोमपाल कामीले पहिलो बलमै विजयी चौका प्रहार गरे ।

चितवनको सुरुआत निकै दयनीय थियो । दोस्रो ओभरमै हासिम अन्सारीलाई नन्दन यादवले शून्यमा आउट गरे । करिम जन्नतले पनि ४ बल खेलेर खाता खोल्न सकेनन् । ओपनर मोहम्मद शाहजाद १४ बलमा २ चौका प्रहार गरी ११ रन बनाए । दुवै अफगानि ब्याटरलाई किशोर महतोले आउट गरेका थिए ।

दीलिपले १७ बल खेली २ चौका प्रहार गरी १८ रन बनाई किशोरको तेस्रो सिकार भए । राजेश पुलामी १२ बलमा १ चौका प्रहार गरी १४ रनमा नन्दनको बलमा बोल्ड भए ।

चितवनले राउन्ड रोबिन लिग र क्वालिफायरमा दुवैपटक पोखरालाई पराजित गर्दै फाइनल पुगेको थियो । दुवै खेल चितवनले समान ९ विकेटले जितेको थियो ।

चितवन जस्तै पहिलोपटक फाइनल खेलिरहेको पोखरालाई रिचर्ड लेभी र विपिन रावतले राम्रो सुरुआत दिलाएका थिए । तर करिम जन्नतको बलमा लेभीलाई दीलिप नाथले उत्कृष्ट क्याच गरेपछि पोखराको पतन सुरु भएको थियो । लेभीले १५ बल खेली ५ चौकासहित २६ रन बनाए । १५ बल नै विपिनले १ चौका र १ छक्का प्रहार गरी १७ रन बनाए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्यसपछि रित गौतम र सहान अराचिगे समान २ रनमै आउट भए । असेला गुनारत्नेले ३४ रन जोडे । उनले २४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । विवेक यादव ४, लोकेश बम शून्य, विक्रम सोब १, नन्दन यादव शून्यमा आउट भए ।

कप्तान विनोद भण्डारी आउट हुने अन्तिम खेलाडी थिए । उनले २६ बलमा २२ रन बनाए । उनले २ चौका प्रहार गरेका थिए । चितवनका कमलसिंह ऐरीले ४ विकेट लिए । उनले ३।५ ओभरमा २० रन खर्चे ।

करिम जन्नतले ३ ओभरमा १५ र सेकुगे प्रसन्नले ३ ओभरमा १३ रन खर्चेर २र२ तथा सोमपाल कामी र सागर ढकालले १र१ विकेट लिएका थिए ।

सम्बन्धित् समाचार