गृहपृष्ठ खबर साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

काठमाडौं : अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो।

सात पटकको च्याम्पियन भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे। कप्तान सुनिल क्षेत्रीले खेलको ८३ मिनेटमा गोल गरेका थिए। फारुख चौधरीले सिक्स यार्ड बक्सबाट मिलाएको हेडिङ पासलाई सिक्स यार्ड बक्समा अनमार्क रहेका क्षेत्रीले वान टचमा गोल गरेका हुन्।

जितसँगै भारत उपाधि होडमा यथावत रहेको छ। यदि नेपालविरुद्धको बराबर तथा हारले भारत प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो। भारतविरुद्ध नेपालले रक्षात्मक खेल खेल्दै काउण्टरमा ध्यान दिएको थियो। पहिलो हाफमा भारतले नेपाललाई पुर्ण रुपमा दबाबमा राखेपनि गोल भने गर्न सकेको थिए। दोस्रो हाफमा समेत दबाब बनाएको भारत गोल गर्न सफल रहेको थियो। यसअघि भारतले केहि राम्रो अवसर बनाएपनि गोल गर्न भने सफल भएन।

खेलको ३३ मिनेटमा भारतले सुन्दर मौका गुमायो। मिडफिल्डर सुरेशको क्रसलाई सिक्सयार्ड बक्सबाट कप्तान सुनिल क्षेत्रीले बाहिर प्रहार गरे। नेपाली कप्तान तथा गोलरक्षक किरण चेम्जोङले छोडेको बललाई सिक्स यार्डबक्सबाट सुनिलले बाहिर प्रहार गरेका थिए। खेलको ५५ मिनेटमा भारतका मिडफिल्डर ब्रेन्डम फर्नान्डेजले पाएको फ्रिकिक सदुपयोग गर्न सकेनन्। दिनेश राजबंशीले २५ यार्डमा सुनिल क्षेत्रीलाई फल गरेपछि पाएको प्रिकिकलाई ब्रेन्डमले बाहिर प्रहार गरे। खेलको ५६ मिनेटमा भारतले अर्को प्रयासमा नेपाली गोलरक्षक किरण बाधक बने। मानबिर सिंहले पेनाल्टी एसियाबाट हानेको हेडिङ गोलरक्षक किरणले उत्कृष्ट पन्च गरी बाहिर फ्याँके।

यस्तै‚ खेलको ७६औं मिनेटमा भारतका सुभासिस बोसको हेडिङ पुनः कप्तान किरणले आफ्नो पञ्जामा पारे। भारतविरुद्ध नेपाली टोलीको कप्तानी गोलरक्षक किरणले गर्दा तीन खेलाडी परिवर्तन भएको थियो। पछिल्लो श्रीलंकाविरुद्ध खेलेका नवयुग श्रेष्ठ, अन्जन विष्ट र विशाल राई बेन्चमा रहँदा मनिष डाँगी, सुजल श्रेष्ठ र दिनेश राजबंशीले स्थान बनाएका थिए।

यसअघि उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका मनिषलाई प्रशिक्षक अब्दुल्लाहले स्ट्राइकरको भूमिका दिएका हुन्। अघिल्ला दुबै खेलमा मनिषले बैकल्पिक खेलाडीको रुपमा खेलेका थिए। नेपाल भारतलाई पराजित गर्दै पहिलो पटक साफ फाइनलमा पुग्ने दाउमा थियो। हारसँगै नेपालले अन्तिम खेलमा बंगलादेशसँग फाइनल प्रवेशका लागि खेल्नेछ। जुन खेल नेपालको लागि निकैनै महत्वपूर्ण हुनेछ। जितले नेपाल फाइनल पुग्नेछ भने हारले प्रतियोगिताबाट बाहिरिनेछ।

साफमा पहिलो हारसँगै नेपालको ३ खेलबाट ६ अंक रहेको छ। नेपाल अंक बराबर भए पनि दोस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा माल्दिभ्स छ। यस्तै प्रतियोगितामा पहिलो जित निकालेको भारत ३ खेलबाट ५ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एक खेल बाकी रहँदा भारतको समेत फाइनल पुग्ने सम्भावना बाँकी रहेको छ।

यसअघि आजेै भएको पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै आयोजक माल्दिभ्स दोस्रो स्थानमा उक्लिएको छ। ४ खेलबाट १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।

सम्बन्धित् समाचार