गृहपृष्ठ खबर एमालेको अवरोधबीच प्रतिनिधिसभाबाट रेल्वे विधेयक फिर्ता

एमालेको अवरोधबीच प्रतिनिधिसभाबाट रेल्वे विधेयक फिर्ता

काठमाडौं : रेल्वे विधेयक २०७६ प्रतिनिधिसभाबाट फिर्ता भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेश गरेको विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकले स्वीकृत गरेको हो।

राष्ट्रियसभामा उत्पत्ति भइ प्रतिनिधिसभामा विचाराधिन रहेको विधेयक फिर्ता लिन सहमतिका लािग राष्ट्रिय सभामा पठाइएको थियो। आजै बसेको राष्ट्रियसभाको बैठकले विधेयक फिर्ता गर्न सहमति जनाएपछि संसदबाट विधेयक फिर्ता भएको हो।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आज पनि एमाले सांसदहरुले नारावाजी गरेका थिए। संसदीय सर्वोच्चता कायम गर, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैनलगायतका नारा लगाएका थिए। एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनको पत्र पढेर सुनाए।

प्रतिनिधिसभामा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री देउवाको तर्फबाट मधेशी आयोगको तेस्रो वर्षीक प्रतिवेदन पेश गरेका छन्।

अवरोधबीच सभामुख सापकोटाले एमाले सांसदहरुलाई आफ्ना कुरा विधि र प्रकृयाअनुरुप संसदमा राख्न आग्रह गर्दै बैठक अघि बढाउने कोशिश गरेका थिए। तर, एमाले सांसदहरुले नाराबाजी नरोकेपछि बैठक कात्तिक ९ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।

सम्बन्धित् समाचार