कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ छपिया स्थित पोखरीमा लुकाइएको २ लाख बढी मूल्यका सालको काठ बरामद गरिएको छ । प्रहरीले स्थानीय चिरकुट केवटको पोखरीमा बेवारिसे अवस्थामा सो काठ बरामद गरेको हो । काठ गोलिया ९(नौ) थान (४८ क्युफिट) अंदाजी मूल्य २ लाखको काठ बरामद भएको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए ।
सुराकीका आधारमा प्रहरी टोलीले खान तलासी लिँदा सो काठ पोखरीमा लुकाई रहेको अवस्थामा फेला पारिएको उनले बताए । बरामद गरिएको काठ डिभिजन वन कार्यालय कपिलवस्तु पठाइएको उनले बताए ।
उता कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय राधेश्याम रैदाससहित ३ जनालाई ९ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । सोहीक्रममा ७ क्याप्सुल नियन्त्रित लागुऔषध स्पास्मोसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागुऔषधको कारोवार भईरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए ।
प्रहरीले उनको घर तलासी गर्दा पलाष्टिकमा लुकाइ राखेको अवस्थामा उक्त लागुऔषध फेला पारेका थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको भन्डारीले बताए ।