काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोले पुर्याएको क्षतिको निरीक्षण गर्न आज सुदूरपश्चिम पुगे। निरीक्षण टोलीमा देउवासहित अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन्।
प्रधानमन्त्री देउवा बिहान ८ बजे बालुवाटारबाट हेलिकोप्टरमार्फत सुर्खेत पुगेका थिए। सुर्खेतबाट हेलिकप्टरबाट डोटी, बझाङ, डडेल्धुरा कञ्चनपुर हुँदै देउवा धनगढी पुगे। सो क्रममा उनले जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा जानकारी लिए।
उनले बाढी र पहिरो पीडितका लागि चाँडै राहतको व्यवस्था गरिने बताए। प्रधानमन्त्री देउवा भोलि काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
आइतवारबाट परेको वर्षाका कारण सुदूरपश्चिममा २८ जनाको मृत्यु भइसकेको छ भने केही मानिसहरु अझै बेपत्ता रहेका छन्। बाढीका कारण कैयन् धानबालीमा क्षति पुगेको छ। बाढीग्रस्त क्षेत्रको प्रधानमन्त्री देउवाले निरीक्षण गरेका हुन्।








