काठमाडौं : बेमौसमको वर्षात्ले नेपालको प्रमुख खाद्यान्न बाली धान उत्पादनमा ठूलो असर गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले देशभरबाट क्षतिको तथ्यांक आइनसकेको, तर ठूलो क्षतिको आकलन गरिएको बताए । ‘हामीले सबै प्रदेश मन्त्रालयलाई क्षतिको तथ्यांक पठाउन भनिरहेका छौँ । शुक्रबारसम्म सबैतिरबाट आउँछ कि भन्ने अपेक्षा छ’ उनले भने, ‘यद्यपि, सञ्चार सम्पर्क हुँदा १० देखि ६० प्रतिशतसम्म क्षति पुगेको जानकारी आएको छ ।’
प्रदेश मन्त्रालयबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार देशभर कम्तीमा दुई लाख हेक्टरमा लगाएको धानबालीमा क्षति पुगेको छ । यसमध्ये धेरै धान उत्पादन हुने लुम्बिनी प्रदेशमा मात्रै एक लाख ३० हजार हेक्टरमा लगाइएको धान डुबानमा परेको र बाढी–पहिरोले बगाएको छ । सुदूरपश्चिममा कम्तीमा ५०–६० हजार हेक्टरमा लगाइएको धान बालीमा असर परेको छ ।
त्यस्तै, कर्णालीमा ३८ हजार हेक्टर रोपाइँ भएमध्ये ३० प्रतिशत धानखेतमा असर परेको छ । प्रदेश १, बागमती र गण्डकीमा सामान्य क्षति पुगेको छ भने प्रदेश २ को तथ्यांक आइपुगेको छैन । यो वर्ष देशभर १३ लाख ४२ हजार हेक्टरमा धान रोपाईं भएको कृषि विभागले जनाएको छ ।