गृहपृष्ठ Featured पाल्पाको छाङ्दी झरनामा पर्यटकको आकर्षण

पाल्पाको छाङ्दी झरनामा पर्यटकको आकर्षण

पाल्पा : पहाडको कुनाकन्दारबाट कलकल गर्दै बहेको छाङ्दी झरना देख्दै मनमोहक छ । मनै लोभ्याउने यस झरनाले पर्यटक तानिरहेको छ । विशेषगरी सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्न थालेपछि झरनामा रमाउँन जाने ह्वात्तै बढेका छन् ।

फेसबुकमा झरनासँगै रमाउँदै खिचेका तस्वीर आउन थालेपछि झरना अवलोकनमा आउँदा अति सुन्दर र मनमोहक रहेको बताउँछन्, दिपेन्द्र भट्टराई । रामपुर नगरपालिका-१ स्थित चिन्ते सामुदायिक वन क्षेत्रमा रहेको छाङ्दी झरना अहिले पर्यटकको रोजाइमा परेको छ ।

हिजोआज यहाँ अवलोकन गर्न जानेको चहलपहल निकै छ। प्रचारप्रसारको अभाव र संरक्षणविहीन बनेको यस झरनाले सामाजिक सञ्जालमा तस्वीर छाएकै कारण पर्यटक तानिरहेको छ।

कालीगण्डकी करिडोर सडकखण्डदेखि करीब ४०० मिटरमाथि रहेको यस झरनामा अहिले दैनिकजसो १५० देखि २०० को हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको स्थानीयवासी नारायणप्रसाद सिग्देलले बताए ।

भौगोलिक बनोटले अत्यन्तै मिलेको यस क्षेत्र यहाँको झरनासम्म पुग्ने मोटरबाटोको स्तरोन्नति, सरसफाइ तथा पैदलमार्ग निर्माण कार्य जस्ता पूर्वाधार विकासमा जोड दिनसकेमा पोखरा आएका बाह्य पर्यटक रामपुरमा भित्रिने रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनाल बताए ।

सम्बन्धित् समाचार