काठमाडौं : यो वर्ष तिहारको लागि भारतबाट २ लाख सयपत्री फूलको माला आयात हुने भएको छ। तिहारका लागि यस वर्ष करिब साढे १८ लाख सयपत्री र मखमली फूलको मालाको माग हुने अनुमान रहेको नेपाल फ्लोरी कल्चर एसोसिएसन ९फ्यान० जनाएको छ ।
स्वदेशी उत्पादनले बजारको सबै माग नधान्ने भएकाले तिहारको लागि १० देखि १५ प्रतिशतसम्म सयपत्री फूलको आयात गरिने एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले बताए ।
गत वर्ष तिहारमा स्वदेशी उत्पादनले पुग्ने भएपछि भारतबाट सयपत्री फूल आयात भएको थिएन। अहिले स्वदेशमा उत्पादित सयपत्री फूलले ८० देखी ८५ प्रतिशत बजारको माग धान्ने अनुमान भएकाले भारतबाट थोरै परिमाणमा आयात गर्न लागिएको उनको भनाई छ।
यो वर्ष देशभित्रै साढे १३ लाख सयपत्री माला उत्पादन हुने अनुमान गरिएको छ। भारतबाट आयात गरेपछि तिहारमा करिब साढे १५ लाख सयपत्री फूलको माला बिक्री गर्ने लक्ष्य राखिएको उनले बताए।
दशैं सकिएलगत्तै बजारमा चहलपहल बढेकाले गत वर्षभन्दा २ लाख ५० हजार बढी सयपत्री फूल बिक्री हुने अनुमान छ। गत वर्ष १३ लाखमात्र सयपत्री फूलको कारोबार भएको थियो। बजारमा हरेक वर्ष फूलको माग घट्दै गएको छ। उपभोक्ताहरुमा पहिले जस्तो उत्साह उमङग नभएकोले बार्षिक रुपमा लक्ष्य भन्दा कम फूलको कारोबार भइरहेको छ। स्वदेशी फूलको उत्पादन पनि बढ्न सकेको छैन।
पछिल्लो समय बेमौसमी झरीका कारण बिभिन्न क्षेत्रहरुमा फुलेको सयपत्रीलाई असर परेको छ। यसकारण पनि सयपत्री फूलको उत्पादन गत बर्षको हाराहारीमै रहने अनुमान एसोसिएसनले गरेको हो। गत वर्ष पनि १३ लाख सयपत्री फूलको माला उत्पादन भएको थियो। उपत्यकामा खपत हुने ८० प्रतिशत फूल सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट, मकवानपुर र सिन्धुलीलगायत जिल्लाबाट आउने गरेको छ।
तिहारको लागि ३ लाख मखमली फूलको माला बिक्री गर्ने एसोसिएसनले जनाएको छ। मखमली फूलमा नेपाल आत्मनिर्भर रहेकोले बाहिरबाट आयात गर्न नपर्ने अध्यक्ष तामाङले जानकारी दिए। उत्पादन भएको मखमली फूल स्थानीय बजारसहित बाहिर देशहरुमा समेत खपत हुने गरेको छ ।
नेपालले हरेक वर्ष डेढ लाख देखि २ लाख भन्दा बढी मखमली फूलको माला अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा निर्यात गर्दै आएको छ।
गत वर्ष नेपालबाट करिब ४५ लाख रुपैयाँको मखमली फूल निर्यात गरेको थियो भने स्थानीय बजारमा एक करोड ८० लाख रुपैयाँको मखमली माला बिक्री गरेको थियो। यस वर्षको तिहारमा पनि गत वर्षको हाराहारीमा निर्यात हुने एसोसिएसनले जनाएको छ ।








