गृहपृष्ठ Featured असोज महिनामा मात्रै ४८ जना फरार अभियुक्त कपिलवस्तु प्रहरीको फन्दामा

असोज महिनामा मात्रै ४८ जना फरार अभियुक्त कपिलवस्तु प्रहरीको फन्दामा

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तु प्रहरीले असोज महिनामा ४८ जना फरार अभियुक्त पक्राउ गरेको छ । भदौ महिनामा १२७ जना फरार अभियुक्त पक्राउ परेका थिए । प्रतिवादीमध्ये फैसला मितिदेखि २० वर्षसम्म फरार भएका ३, १५ वर्षसम्म फरार १, दस वर्षसम्म फरार ११, पाँच वर्षसम्म फरार १७ र पाँच वर्षभन्दा कम समय फरार १६ जना रहेका छन् । असोज महिनाको शान्ति–सुरक्षाको अवस्थाबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै कपिलवस्तु प्रहरीले फरार अभियुक्त पक्राउ, लागुऔषध नियन्त्रण, एक महिनाको शिशु हत्या आरोपी पक्राउ, भन्सार छली नियन्त्रण लगायतलाई उपलब्धी मानेको छ ।

असोज ६ गते शिवराज नगरपालिका–२ मदरहवाका तुलानन्द चौधरीका एक महिना १४ दिनका छोराको हत्या भएको थियो । कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका हिरे कामीलाई पक्राउ गरिएको थियो। कामीले चौधरीकी ९ वर्षीया छोरी झरनालाई गालामा झापड हानेकोमा १ महिना १४ दिनको छोरा सुलब चौधरीलाई लागेको थियो । झापड लागेको केही समयमै शिशुको मृत्यु भएको थियो । यस्तै, असोज महिनामा प्रहरीले २२ लाख ९१ हजार ८ सय रुपैयाँ स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको थियो ।

असोज महिनामा भन्सार छलीबाट तीन करोड १ लाख १ हजार १५४ रुपैयाँ राजश्व संकलन भएको भण्डारीले बताए । अघिल्लो आर्थिक वर्षको असोज महिनामा ६६ लाख ६८ हजार ८७१ रुपैयाँ राजश्व असुली भएको थियो। गत वर्षभन्दा यसपालि भन्सार छलीको सामग्री बरामद उत्साहजनक रहेको भण्डारीले बताए । सोही महिना लागुऔषधसहित १४ जना पक्राउ परेका थिए।

२४ ग्राम ब्राउनसुगरसहित तीन जना पुरुष पक्राउ परेका थिए । पुराना र फर्छ्यौट हुन बाँकी मुद्दाको अनुसन्धान, कारबाही, चाडपर्वलक्षित सुरक्षा व्यवस्था, सीमा अपराध नियन्त्रण, पटाका तथा विस्फोटक पदार्थमा कडाइ लगायत आगामी कार्ययोजना रहेको डिएसपी भण्डारीले बताए । असोजमा ४४ वटा विभिन्न किसिमका मुद्दा दर्ता भएका थिए ।

सम्बन्धित् समाचार