गृहपृष्ठ Featured वर्षाले कम्तीमा सात अर्ब २२ करोडको धानबाली नोक्सान

वर्षाले कम्तीमा सात अर्ब २२ करोडको धानबाली नोक्सान

बेमौसमी अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले कम्तीमा सात अर्ब २२ करोड रुपैयाँबराबरको धानबालीमा नोक्सान पुगेको प्रारम्भिक तथ्यांक आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार वर्षाबाट बढी क्षति पुगेका तीनवटा प्रदेशमा मात्रै सो परिमाणको धानबाली नष्ट भएको हो ।

मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा क्षति पुगेको छ । ‘लुम्बिनीका सबै जिल्लामा वर्षाले धानबालीमा असर गरेको देखियो । त्यहाँ लगाइएको धानबालीमध्ये एक लाख ३० हजार हेक्टरमा क्षति पुगेको र त्यसबाट चार अर्ब ५१ करोड रुपैयाँबराबरको नोक्सानी भएको प्रारम्भिक तथ्यांक छ,’ उनले भने ।

लुम्बिनीका ११ जिल्लामा यो वर्ष तीन लाख १७ हजार चार सय १४ हेक्टरमा रोपाइँ भएको थियो । त्यसमध्ये ३६ हजार चार सय ८० हेक्टरमा किसानले धानलाई काटेर खेतमा सुकाएका थिए । सो धान पानी जमेर तथा बाढी र पहिरोले बगाएर नष्ट भएको छ ।

त्यस्तै, पाकेर काट्ने वेला भएको ९३ हजार पाँच सय ७६ हेक्टरको धानमा पनि बाढी पसेर क्षति पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पाल्पामा पाँच सय ३५ हेक्टर, गुल्मीमा ६ सय ५८ हेक्टर, नवलपरासीमा चार हजार पाँच सय १० हेक्टर, रुपन्देहीमा २४ हजार दुई सय ५८ हेक्टर, कपिलवस्तुमा ३५ हजार चार सय ६३ हेक्टर र दाङमा सात हजार सात सय हेक्टरमा लगाएको धानबालीमा क्षति पुगेको छ ।

त्यस्तै, बाँकेमा १७ हजार पाँच सय हेक्टर, बर्दियामा ३५ हजार दुई सय हेक्टर, रुकुम पूर्वमा चार सय १२ हेक्टर, प्युठानमा तीन हजार सात सय ९५ हेक्टर र रोल्पामा २५ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ५५ हजार ५४ हेक्टरमा पाकेको धान भने किसानले सुरक्षित रूपमा कटान गरी घरमा राखिसकेका छन् । सो प्रदेशमा एक लाख ३२ हजार हेक्टरमा लगाइएको धानबाली खेतमै सुरक्षित अवस्थामा छ ।

 

सम्बन्धित् समाचार