गृहपृष्ठ Featured विश्वासको मत लिँदै भीम आचार्य : मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी

विश्वासको मत लिँदै भीम आचार्य : मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी

प्रकाशित मिति:

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन्। नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मतका लागि आज मतदान हुने कार्यतालिका रहेको छ। एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते मुख्यमन्त्रीमा मुख्यमन्त्री बनेका हुन्।

केन्द्रमा सत्तारुढ गठबन्धनले प्रदेश १ मा नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ। एकीकृत समाजवादीबाट राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार हुन्। यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भने कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्नुपर्ने बताएका छन्।

कोइरालाले प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालालाई निर्वाचित गराउन आग्रह गरेका हुन्।

आचार्यले विश्वासको मत लिन लाग्दा डा। कोइरालाले नेपाली कांग्रेसका नेतृत्वमा प्रदेश सरकार गठन गरिनुपर्ने अडान व्यक्त गरेका हुन्।

‘राजीवजी विपक्षी दलका नेता हुनुहुन्छ’, कोइरालाले पहिलोपोस्टसित भने, ‘प्रदेशमा विपक्षी दलको नेता भनेको वेटिङ चिफ मिनिस्टर हो। संसदीय मर्यादा र मर्म पनि यही हो। त्यसैले राजीवजीलाई नै मुख्यमन्त्री बनाउन पार्टीले भूमिका गर्नुपर्छ।’

‘संसदीय दलमा राजीवजी स्वीकार्य हुनुभएन भने संसदीय दलको बैठक बोलाएर अर्को नेताको चयन गरेर उहाँकै नेतृत्वमा सरकार बनाउन पनि सकिन्छ’, उनले थपे, ‘जसरी होस्, सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ। यो नेपाली कांग्रेसका लागि अवसरको क्षण हो। यसको सदुपयोग पार्टीले गर्नुपर्छ।’

उनले अबको प्रदेश सरकारमा कांग्रेसको नेतृत्व नभए कार्यकर्ता र शुभचिन्तकको मनोबल खस्कने र निरासा छाउने प्रतिक्रिया व्यक्त गरे।

‘तर पार्टीको केन्द्रीय समितिमा प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू यस बारेमा किन चूप हुनुहुन्छ, म आश्चर्यचकित छु’, कोइरालाको आग्रह थियो, ‘प्रदेश सभामा कांग्रेसका सांसदहरूले पनि आफ्नो दलका नेताका नेतृत्वमा सरकार गठन गराउन पार्टीसित अझ जोडदार ढङ्गले माग गर्नुपर्छ।’

केन्द्रीय सहमतिअनुसार प्रदेश १ र वाग्मती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भनिएको थियो। तर वाग्मती प्रदेशमा पनि कांग्रेस र माधव नेपालको समाजवादी पार्टीले आधाआधा कार्यकाल मुख्यमन्त्री चलाउने सहमति भइसकेको छ। केन्द्रीय सहमतिलाई प्रदेशमा नमान्दा प्रदेश १ मा वाग्मती दोहोरिने हो कि भन्दै नेताहरुले आशंका गरेका छन्।

प्रदेश नम्बर १ को प्रदेश सभा ९३ सदस्यीय छ। यसमा माओवादीका नेता टंक आङ्बुहाङ एमालेमा गएका कारण उनको पद खारेज भएपछि हाल ९२ सांसद् छन्। जसमा १० जना एकीकृत समाजवादीमा गएपछि एमालेका अब ५१ बाट ४१ सांसद् भएका छन्। मुख्यमन्त्री आचार्यलाई आफ्ना पक्षमा बहुमत ४७ सांसद् आवश्यक पर्छ। यसरी आचार्य अल्पमतमा परिसकेका छन्।

त्यस्तै नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, संघीय समाजवादीका ३ तथा राप्रपा र संयुक्त राष्ट्रिय लोकतान्त्रिक मञ्चका १–१ सांसद् छन्।

सम्बन्धित् समाचार