पाल्पा : पाल्पाको तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । गाईको दूधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुने गरेको छ । यहाँ उत्पादित छुर्पी पोखरा, काठमाडौँ हुँदै अमेरिका निर्यात हुँदै आएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा। चन्द्रबहादुर रानाले बताए ।अमेरिकामा कुकुरलाई आहाराका रूपमा खुवाउने गरिएकाले यहाँ उत्पादित छुर्पी काठमाडौँमा सङ्कलन गरी अमेरिका पठाउने गरिएको उनको भनाइ थियो । पाल्पा पछिल्लो वर्ष व्यावसायिकरूपमा पशुपालनसँगै दूध र मासुमा आत्मनिर्भर बनेको छ
जिल्लामा उत्पादित भैँसीको दूधको खपत सहजरूपमा हुँदै आएको छ । गाईको दूधको माग न्यून हुँदा खपतमा समस्या भएपछि सहकारी तथा निजी डेरी छुर्पी उत्पादनमा आकर्षित भएका हुन् । तानसेन नगरपालिकाको बसपार्कका टीकाराम खरालले विसं २०५२ मा तीन लिटर दूध बोकेर डेरीमा ल्याउथे । उत्पादित दूधले उचित मूल्य नपाउँदा बजारको समस्याले हैरानी भएका उनी छुर्पीका निम्ति प्रख्यात इलाममा पुगी छुर्पी उत्पादन गर्न सिकेको बताउँछन् ।
स्थानीयस्तरमा उत्पादित गाईको दूध खपत गर्न कृषक खरालले विसं २०७६ देखि तानसेन नगरपालिका–७ काजीपौवा गोरस घर तथा जय किसान डेरी स्थापना गरेको र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सहयोगमा यहाँबाट चिज तथा छुर्पी उद्योगमा दूधजन्य परिकार उत्पादन हुँदै आएको छ । -रासस








