वैखरी अनलाईन : धानबाली नोक्सान भएका किसानलाई क्षतिपुर्ति दिन नेपाली कांग्रेस बाणगंगाको माग नेपाली कांग्रेस बाणगंगाले अविरल वर्षाका कारण आएको बाढी र डुबानले धानबालीमा क्षति पुगेको भन्दै किसानलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ । आईतबार नेपाली कांग्रेस बाणगंगाका नगर सभापति विष्णु बहादुर थापाले नगर प्रमुख मंगल प्रसाद थारुलाई ध्यान आर्कषण पत्र बुझाउँदै सो माग गर्नुभएको हो ।
सभापति थापाले कपिलवस्तुका विभिन्न स्थानहरुमा भएको धानबालीको क्षतिको यथार्थ विवरण संकलन गरी कृषि वस्तुहरुको उचित क्षतिपूर्ति प्रदान गर्न माग गरेका हुन् । प्रतिकुल परिस्थितिले कपिलवस्तु जिल्लाका कृषि क्षेत्रमा समेत ठूलो हानी, नोक्सानी, क्षति हुन पुगेकोमा नेपाली कांग्रेस बाणगंगाको गम्भिर ध्यानाकर्षण भएको सभापति थापाले बताउनुभएको छ ।
केही दिन देखि परेको अविरल वर्षाका कारण कपिलवस्तुमा भित्राउन लागेको धानमा क्षति पुगेपछि किसान मारमा परेकाले तत्काल सरकारले किसानहरुको समस्या समाधान गर्नु गर्न सभापति थापाको माग छ । उहाँले स्थानीय, प्रदेश र संघिय सरकारसंग किसानलाई राहत दिन माग गर्र्नुभएको छ ।
विगत केही दिनको अविरल वर्षाका कारण थन्क्याउने बेला भएको धान बाली डुबानमा परेको छ ।









