काठमाण्डौ : आउँदो मङ्सिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । विद्युत् नियमन आयोगले आज बुधवार पत्रकार सम्मेलन गरेर आउँदो मङ्सिर महिनाको उपयोग अर्थात् पुस महिनाको बिलिङदेखि विद्युतको नयाँ महसुल दर लागू हुने जानकारी दिएको हो ।
नयाँ विद्युत् दरअनुसार विपन्न वर्ग अर्थात् ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताउनुभयो । यस्तै सिङ्गल फेजबाट विद्युत् लिएर एक सय ५१ देखि दुई सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाइ प्रति युनिट नौ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
चार सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रति युनिट एक रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ ।








