काठमाडौँ : कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनको कार्यतालिका बनाउने विषयमा छलफल थालेको छ । समितिको बुधबारको बैठकले प्रस्तावित कार्यतालिका तयार गरेको छ । त्यसलाई बिहीबार पुनः बैठक बसेर अन्तिम रुप दिने तयारी रहेको समितिका एक सदस्यले बताए ।
निर्वाचन समितिले २७ कात्तिकमा बाँकी रहेका वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको छ । ‘कात्तिक मसान्तदेखि सुरु गर्ने र मंसिर मसान्तमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका आउँछ, मंसिरभित्रै केन्द्रीय महाधिवेशन नसकिए पनि मंसिर मसान्तमा सुरु हुन्छ,’ ती सदस्यले भने ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार शीर्ष नेताहरुसँग छलफलपछि मंसिरभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । त्यहीअनुसार निर्वाचन समितिले बुधबारै छलफल गरेर तयारी अघि बढाएको हो ।
कांग्रेसले १३ जिल्लामा जिल्ला तहसम्मकै अधिवेशन गरिसकेको छ भने ५१ जिल्लामा स्थानीय तहसम्मको अधिवेशन भइसकेको छ । बाँकीमध्ये १३ जिल्लामा वडा अधिवेशन भएको छैन । रौतहट र रसुवाको क्रियाशील सदस्यताको टुंगो लागेको छैन ।
निर्वाचन समितिका ती सदस्यका अनुसार २७ कात्तिकमा ती १३ जिल्लामा वडा अधिवेशन हुनेछ । त्यसपछि त्यहीअनुसारको कार्यतालिका बिहीबार साँझ निर्वाचन समितिले सार्वजनिक गर्नेछ ।
कांग्रेसले यसअघि मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएर १८ भदौदेखि अधिवेशनको प्रक्रिया थालेको थियो । तर, क्रियाशील सदस्यताको टुंगो लगाउन नसकेपछि अधिवेशन रोकिएको हो ।








