नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउने सम्बन्धमा गठबन्धनमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्। बिहीबार धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
उनले आफू निरन्तर काठमाडौंबाहिर रहेको र नेताहरू पनि व्यस्त रहेका कारण पाँच दलको बैठकसमेत बस्न नसकेको बताए। उनले भने, ‘हामीले त छलफल नै गरेका छैनौँ त्यसबारेमा। महाभियोगबारे केही प्रवेश नै गरेको छैन। छलफल नै भएको छैन। केही भएको छैन। म त बाहिरको बाहिर नै छु। अहिले हाम्रो पाँच दलको बैठक नै बस्न सकेको छैन।’
एमाले अध्यक्ष केपी ओलीले न्यायपालिकामाथि अनावश्यक लाञ्छना लगाउने काम गर्दै आएको अध्यक्ष नेपालको आरोप छ। ओलीको हस्तक्षेपकारी भूमिकाका कारण न्यायालयमा अहिले समस्या देखिएको उनको भनाइ छ।