गृहपृष्ठ Featured तीन महिनापछि अफगानिस्तानबाट ३२ नेपालीको उद्धार

तीन महिनापछि अफगानिस्तानबाट ३२ नेपालीको उद्धार

लामो प्रतीक्षापछि अफगानिस्तानको राजधानी काबुलबाट ३२ जना नेपालीको उद्धार भएको छ। रोजगारीका लागि पुगेका, तर बेरोजगार अवस्थामा रहेका ३४ जनामध्ये दुईजना कात्तिक ४ गते फर्केका थिए भने काजगात नभएका ३२ जना इरान, दुबई हुँदै भोलि बिहान पौने १० बजे काठमाडौं आइपुग्दै छन्। उनीहरूले काबुल छाडेका छन्।

नयाँदिल्लीस्थित नेपाली कार्यबाहक राजदूत रामप्रसाद सुवेदीका अनुसार ३२ जना नेपाली आज काबुलबाट इरानको महान एयरलाइन्सबाट तेहरानतर्फ प्रस्थान गरेका छन्। उनीहरू तेहरानबाट साँझ अबेर दुबई पुग्नेछन्। त्यहाँबाट तीनजना फ्लाई दुबईको उडानबाट र बाँकी २९ जना नेपाल एयरलाइन्सको नियमित उडानबाट भोलि बिहान पौने १० बजे काठमाडौं आइपुग्ने कार्यबाहक राजदूत सुवेदीले जानकारी दिए।

कात्तिक ३ गते उद्धार हुने भनिए पनि ३४ जनामध्ये ३२ जना काबुल विमानस्थलबाट फर्केका थिए। उद्धार भएर आउने ३२ जना नेपालीको हवाई भाडा, काबुलमा बढी समय बसेको शुल्क, पिसिआर परीक्षणको शुल्कसहित नेपाल सरकारले व्यहोर्ने भएको छ।

सुवेदीका अनुसार उनीहरूको उद्धारमा लाग्ने सबै खर्च नेपाल सरकारले तीन सातामा भुक्तान गर्ने निर्णय गरेको छ। करिब १३ सय अमेरिकी डलर हवाई भाडा, प्रतिव्यक्ति ६५ अमेरिकी डलरका दरले ओभर स्टे शुल्क र पिसिआर परीक्षणको थप शुल्क नेपाल सरकारले व्यहोर्नेछ।

सम्बन्धित् समाचार