काठमाडौं : सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा (meta) राखेको हो ।
मेटाभर्स स्थापना गर्ने योजना सार्वजनिक गर्ने क्रममा फेसबुक संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् । मेटाभर्स भनेको एउटा यस्तो अनलाइन संसार हो जहाँ मानिसहरु भर्चुअल रियालिटी हेडसेट लगाएर भर्चुअल वातावरणमै गेम खेल्न, काम गर्न तथा सञ्चार गर्न सक्दछन् ।
कम्पनीले हाल गरिरहेका कामहरु नयाँ नामले राम्रोसँग समेट्ने फेसबुकले जनाएको छ । हाल फेसबुकको उपस्थिति सोसल मिडिया प्लाटफर्मसँगै भर्चुअल रियालिटी लगायतका क्षेत्रमा पनि फैलिएको छ ।








