रुपन्देही : रुपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै त्रसित भएको छ । नगरको वडा नं. ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टोकेर बिरामी परेको भैंसी काटेर मासु खाँदा गाउँ नै त्रसित भएको हो । यहि असोज १९ गते घटस्थापनाका दिन सैनामैना–८ पिपलडाँडा ठूलीओकाली निवासी एक स्थानीयको घरबाट स्मृतिटोलका केही व्यक्ति मिलेर भैंसी ल्याई काटेर गाउँमा मासु बिक्री गरेका थिए ।
असोज १९ गतेको घटना भए पनि अहिले घटना सार्वजनिक भएको हो । सैनामैना–७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृतिटोल निवासी दुई व्यक्तिले पिपलडाँडाबाट भैसी ल्याई काटेर प्रति केजी २५० रुपैयाँका दरले बिक्री गरेका थिए । उक्त भैंसीको मासु स्मृति टोलसँगै सैनामैना–८ र कञ्चन गाउँपालिका–१ का गरि कूल १ सय ४० जनाले पकाएर खाएका थिए ।
उक्त मासु खानेमा बच्चादेखि बृद्धसम्म रहेका उनले बताए । अस्वस्थ मासु बिक्री वितरण गरेको भन्दै दोषीहरुलाई आवश्यक कार्बाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीमा अनुरोध गरिएको अध्यक्ष बेलबासेले बताए । कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेको घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृतिटोलमा पुगेर एकैपटक ७० जनालाई रेबिज विरुद्धको खोप लगाएको छ ।
नगर प्रमुख चित्र बहादुर कार्कीले अझै पनि गरिब तथा विपन्न वर्गका परिवारमा स्वास्थ्र्यवद्र्धक खाद्यन्न सम्वन्धि चेतनाको अभाव रहेकोले उक्त समस्या उत्पन्न भएको बताए । नगरपालिकाले तत्कालै लुम्बिनी प्रदेश सरकार र संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा खोपको पहल गरि लगाउनै पर्ने ७० जनालाई खोप लगाउन सफल भएको प्रमुख कार्कीको भनाई छ । उनले ठूलो सङ्क्रमक रोगबाट जोगिन सफल भएको बताउँदै चाडपर्वसँगै अन्य समयमा पनि मासुजन्य खाद्यन्न खाँदा स्वास्थ्यवद्र्धक खान आग्रह गरे ।








