काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताएका छन्।
आइतबार नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको नेतृत्वले हेलचेक्राइ गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको टिप्पणी गरे।
पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नु पर्ने बताए। नेता सिंहले भने, ‘पार्टीभित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछरु पार्टीको समस्या हामी आफै समाधन गर्ने हो। बाटो विराउनेलाई बाटो देखाउनु पर्दछ। आलोचना गर्दा पार्टीको विधी र पद्धतिको रक्षा हुन्छ।’
पार्टीभित्रका भजनमण्डली नेतृत्वलाई अलमल पारिरहेको आरोप लगाए। कांग्रेसको इतिहास राम्रो छ भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिनेबारे सचेत गराए।
१३ औं महाधिवेशन पछि कांग्रेस इतिहासको कमजोर बनेको आरोप लगाए। अहिलेकै अवस्था कायम रहे राष्ट्रियसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने उनको भनाइ छ। ‘विवाद मिलाउन पर्नेमा नेतृत्वले त्यसो गर्न सकेन। केही व्यक्तिले आफ्नो पक्षमा मत लिनको लागि धाँधली गरे’ उनले भनाइ छ।








