गृहपृष्ठ Featured एमाले महाधिवेशनमा पाँच लाख सहभागी हुने सुरेन्द्र पाण्डेको दाबी

एमाले महाधिवेशनमा पाँच लाख सहभागी हुने सुरेन्द्र पाण्डेको दाबी

प्रकाशित मिति:

चितवन : नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले यहाँ गर्न लागिएको पार्टीको महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने दाबी गरेका छन्।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले विभिन्न प्रदेशबाट नेता कार्यकर्ता आउने बताए। पाण्डेले महाधिवेशनमा गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, बागमतीबाट दुई लाख ५० हजार, प्रदेश १ बाट २५ हजार सहभागी हुने अनुमान गरिएको जानकारी दिए। उनले भने, ‘हरेक जिल्लाबाट धेरै नेता कार्यकर्ता सहभागी गराउने तयारी छ।’

उद्घाटन सत्र हुने नारायणी नदी किनारमा रहेका खाल्डाखुल्डी पुरेर व्यवस्थापन गर्न लागिएको उनको भनाइ थियो। उद्घाटन सत्रपछि बन्द सत्र सौराहामा गरिने जानकारी दिए। सौराहामा करिब तीन हजार पाँच सय जनालाई बस्ने व्यवस्था मिलाइने बताए।

आजै महाधिवेशन मूल समितिको सम्पर्क कार्यालय एमाले चितवनको पार्टी कार्यालयमा स्थापना गरी महाधिवेशन तयारी तीव्र पारिने उनको भनाइ छ। यसपालिको नयाँ नेतृत्व सहमतिमा चयन हुने र केही पदमा मात्रै चुनाव हुनसक्ने उनले अनुमान गरे। महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुँदैछन्।

नेता पाण्डेले महाधिवेशन कुनै दल र नेताप्रति लक्षित गरेर नगरिएको दाबी गरे। बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो। महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म हुँदैछ।

सम्बन्धित् समाचार