काठमाडौं : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न तीन तहकै निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पराजित गर्ने दावी गरेका छन् । उनले पाँच वर्षका लागि शासन सञ्चालन गर्न जनमत पाएको एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए ।
कांग्रेसको भक्तपुर सूर्यविनायक नगरपालिका(४ ले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा नेता थापाले एमालेलाई केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनमा बढार्ने दावी गरे ।
‘पाँच वर्ष आरामले सरकार सञ्चालन गर्नुपर्नेमा राज्य अस्तव्यस्त बनाउने काम भयो । त्यसकारण एमालेले दण्ड पाउनैपर्छ,’ उनले भने, ‘एमालेलाई माथिदेखि तलसम्म कुचो लगाएर बढार्ने हो । यसका लागि कांग्रेसका सबै नेता कार्यकर्ताहरुले एउटा संकल्प गर्नुपर्नेछ ।’
उनले तीन वर्षमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा भद्रगोल अवस्था सिर्जना गरेको जीकिर गरे । सर्वोच्च अदालतमा देखिएको विवादको कारक पनि ओली सरकार भएको नेता थापाको दावी छ ।








