बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट २० उद्यमी घोषणा गर्दै सम्मान गरेको छ । तिलोत्तमामा उद्योग सञ्चालन गरेर उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउनले २० उद्यामीलाई बुधबार नगरपालिकाले सम्मान गरेको हो । नगरपालिकाले उद्यमशील तिलोत्तमाको परिकल्पनासहित दायित्व नामक संस्थासँग सहकार्य गरी नगरप्रमुख ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।
सोही अन्तर्गत २० जना उद्यमीलाई छनोट गरी सम्मान गरेको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए । उद्यम द्रुतीकरण कार्यक्रम अन्तर्गत गत १९ चैतमा आवेदन माग गरिएकोमा एक सय २५ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ४० जनालाई सम्भावित उत्कृष्ट उद्यमीको रुपमा छनोट गरिएको थियो ।
४० जनामध्येबाट नगरपालिकाले तोकेको मापदण्डका आधारमा २० जनालाई उत्कृष्ट घोषणा गरेको नगरप्रमुख घिमिरेको भनाइ छ ।








