आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा भारतले अफगानिस्तानलाई हराएको छ। अबु धाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा अफगानिस्तानलाई ६६ रनले हराउँदै भारतले जारी विश्वकपमा पहिलो जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१० रन बनाएको थियो। २११ रनको ठूलो लक्ष्य पछ्याएको अफगानिस्तान निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रनमा समेटियो।
सुरुवाती ब्याटिङमा उत्रिएको भारतका लागि ओपनरद्वय रोहित शर्मा र केएल राहुलले अर्धशतक प्रहार गरे। शर्माले ४७ बलमा ८ चौका र ३ छक्काको मद्दतले ७४ रन बनाउँदा राहुलले ४८ बलमा ६ चौका र २ छक्काको मद्दतले ६९ रन जोडे। त्यस्तै, हार्दिक पाण्ड्याले ३५ रन बनाउँदा रिसब पन्तले २७ रन जोडे।
बलिङतर्फ अफगानिस्तानका गुल्बदिन नाइब र करिम जनतले १र१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ४२ रन बनाउँदा कप्तान मोहम्मद नाबीले ३५ रन , रहमानुल्लाह गुरबाजले १९, गुल्बदिन नाइबले १८, हजरतुल्लाह जाजईले १३ र नजिबुल्लाह जर्दानले ११ रन जोडे।
भारतका मोहम्मद शामीले ३, रविचन्द्रन आश्विनले २ तथा जसप्रित बुमराह र रविन्द्र जडेजाले समान १/१ विकेट लिए।








