काठमाडौं : आज नेपालीहरुले मनाउने तिहारअन्तर्गत लक्ष्मीपूजा । यो दिन नेपाली साहित्यका लागि अर्को महत्वपूर्ण चाड पनि हो । नेपाली साहित्यकाशका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको दिन ।
आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पुर्याएको योगदानलाई स्मरण गर्दै आज ११३ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्षको नेपालका साथै भारतको दार्जिलिङ सिक्किम एवं नेपाली भाषीको बाहुल्य भएका क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने गरिन्छ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँशी अर्थात् लक्ष्मीपूजाका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साहिंलो छोराका रुपमा काठमाडौको डिल्लीबजारमा भएको थियो ।
दस वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको शुरुवात गर्नुभएको थियो ।
तत्कालीन राणा शासनमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाईब्रेरी काण्डमा समेत पर्नुभएको थियो ।
देवकोटाको कवितायात्राको पूर्वार्द्धकालीन कविता सङ्ग्रहहरूमा ‘भिखारी’ कविता संग्रहलाई, काव्य खण्डकाव्यहरूमा ‘मुनामदन’ खण्डकाव्यलाई र महाकाव्यहरूमा ‘शाकुन्तल’ महाकाव्यलाई प्रतिनिधिमूलक कृतिको रूपमा लिने गरिन्छ ।
उहाँको उत्तरार्द्धकालीन कवितायात्राका कविता संग्रहहरूमा ‘लक्ष्मी कविता संग्रह’, काव्य–खण्डकाव्यहरूमा ‘मायाविनी सर्सी’ खण्डकाव्य र महाकाव्यमा ‘प्रमिथस’ महाकाव्यलाई प्रतिनिधिमूलक कृति मान्ने गरिन्छ ।








