भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी २० समूहमा भारतलाई भरपर्दो साझेदारका रुपमा प्रस्तुत गरेका छन् । आइटी र बिपिओ सप्लाई चेन अविराम चलिरहेको भन्दै मोदीले जी २० मुलुकहरुको अर्थतन्त्रको पुनस्र्थापनाका लागि भारतको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् ।
भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलालाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाए अनुसार मोदीले जी २० सम्मेलनको उद्घाटन शत्रमा शनिबार राखेको मन्तव्यले भारतको भूमिका थप स्पष्ट पारेका हुन् । साझेदार मुलुकले पनि भारतको भूमिकालाई त्यहीरुपमा आत्मसात गरेको श्रृंगलाको भनाई छ । भारतले गरेका आर्थिक सुधारका कार्यहरुप्रति अन्य मुलुक पनि विश्वस्त रहेको उनले बताएका छन् ।
मोदीले एक स्वास्थ्य, एक विश्वको नारामा जोड दिँदै स्वास्थ्य क्षेत्रको अन्वेषण र विकासमा जी २० मुलुकहरुको सहकार्य र साझेदारी हुनुपर्ने बताएका छन् । उनको प्रस्ताबमा अन्य मुलुकका शीर्ष नेताले पनि सकारात्मक रेस्पोन्स गरेको विदेश सचिब श्रृंगलाले बताएका छन् । मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच पनि यस सम्बन्धमा बेग्लै साइडलाइन छलफल भएको इकोनोमिक टाइम्सले जनाएको छ ।










