गृहपृष्ठ Featured कपिलवस्तुका बजारक्षेत्रमा तिहारको चहलपहल बढ्यो

कपिलवस्तुका बजारक्षेत्रमा तिहारको चहलपहल बढ्यो

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुका बजारक्षेत्रमा तिहारको चहलपहल बढेको छ । तिहार अर्थात् भाइटिकाको २ दिनअघि लक्ष्मी पूजाको दिन कपिलवस्तुका बजार क्षेत्रमा चहल पहल बढेको हो । जिल्लाको पूर्व क्षेत्रको केन्द्रविन्दु मानिने बाणगंगा नगरपालिकाको चारनम्बर चोकसहित सदरमुकाम तौलिहवा, गोरुसिङ्गे, चन्द्रौटा, कृष्णनगरमा तिहार मनाउन जाने र आउनेको भीँड देखिएको हो । भाईटिका लागी आवश्यक सामग्रीको जोहो गर्न मानिसहरुको चहलपहल बढेको छ ।

विहानैबाट यात्रुहरु गन्तव्यमा पुग्न र बिभिन्न ठाउँबाट तिहार मनाउन आवतजावत गर्नेको भीड देखिएको हो । यता विगत एक दुई दिनदेखि नै चारनम्बर बजार क्षेत्रमा बढी चहलपहल देखिएको व्यवसायीहरुले बताएका छन् । कोरोना संक्रमणभन्दा पहिलेको अवस्थाभन्दा भने कम नै चहलपहल रहेको व्यवसायीहरुले बताएका छन् । सदरमुकाम तौलिहवा छिर्ने प्रमुख गन्तव्य स्थान भएकाले पनि चारनम्बरमा चहलपहल बढेको र सोही अनुसार आवश्यक सावधानी अपनाउन यात्रुहरुलाई आग्रह गरिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

गाउँघरका सर्वसाधारण पनि सरसामान किनमेलका लागि चारनम्बर बजार आउने गर्छन् । अध्ययन र जागिरको सिलसिलामा तराईसंगै पसेकाहरु विदा भएसंगै गाउँ फर्किन लागेका हुन् । गएको बर्ष कोरोना भाइरसको संक्रमणले तिहार पर्व सुनसान जस्तै भएको थियो ।

देउसी भैलो कतै खेलेको देखिदैन्थ्यो भने सर्वसाधारणको आवतजावत पनि कम थियो । यो बर्ष पनि देउसी भैलोको रौनक गुन्जिन थालेको छ । यद्यपि कपिलवस्तु प्रशासनले राति ८ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ भने स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

सम्बन्धित् समाचार