गृहपृष्ठ Featured १४ औँ महाधिवेशन समयमै हुन्छ- देउवा

१४ औँ महाधिवेशन समयमै हुन्छ- देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमै हुने बताएका छन्। शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको पार्टी महाधिवेशन समयमै हुने प्रस्ट पारेका हुन्।

उनले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताए। प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वच्छ रूपमा हुनुपर्ने भन्दै जित र हारले पार्टीभित्र दुश्मनी बढाउन नहुने बताए।

‘अहिले पार्टी अधिवेशन आउँदै छ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस्, त्यसमा जित हार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने हुन्छ, र जित हारमा दुश्मनी नबढोस्, पार्टीभित्रको मामिला हुनाले जित हारमा दुश्मनी नबढोस्, त्यस्तो अधिवेशन हुनुपर्छ, जसले जे भने पनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, हुन्छ, अब अधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ, मैले चाहेर पनि हुँदैन, मैले भनेर पनि हुँदैन, अधिवेशनको तयारीमा लाग्नुहोला,’ देउवाले भने।

प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गरे।

सम्बन्धित् समाचार