सागर वि.क. (वैखरी अनलाईन) : हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज कपिलवस्तुसहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाएको छ । कपिलवस्तुमा यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाएका छन् । कपिलवस्तु नेवार समाज बाणगंगा नगर कार्यसमितिले बाणगंगा नगरभित्र मोटरसाईकल र्याली समेत गरेको छ ।
बाणगंगा मुख्य क्षेत्र चारनम्बरसहित कोईली बनगाई, ओदारी, कोपवामा मोटरसाईकल र्याली गरिएको हो । बाणगंगामा ११० घरपरिवार रहेको नेवार समुदायले आफ्ना विभिन्न संस्कृतिलाई जर्गेना गर्न निरन्तर पहल गर्दै आईरहेको कपिलवस्तु नेवार समाज बाणगंगा नगर कार्यसमितिका अध्यक्ष जोसी कुमार श्रेष्ठले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसको सम्वर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
चारनम्बर चोकमा आफ्नो पहिचानसहितको पोसाक, नेपाली झण्डा, नेवारहरुको आफ्नै सुकुण्डासहित झण्डा समेत प्रर्दशन गर्दै नेपाल संवत ११४२ तथा मह पुजाको शुभकामना आदानप्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बाणगंगा नगर परिषद अध्यक्ष रुपनारायण श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रमको समापन चारनम्बरको मन्द्रेली टोलमा अवस्थित भिमसेन मन्दिरमा गरिएको हो ।
राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराउनुभएको थियो ।