आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले स्कटल्यान्डलाई हराएको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले हराएको हो।
योसँगै पाकिस्तानले समूह चरणका पाँचै खेलमा जित निकालेको छ। पाकिस्तानले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। १९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रनमा समेटियो।
सुरुवाती ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि कप्तान बाबर आजम र सोयब मलिकले अर्धशतक प्रहार गरे। आजमले ४७ बलमा ५ चौका र ३ छक्काको मद्दतले ६६ रन बनाउँदा मलिकले १८ बलमा १ चौका र ६ छक्काको मद्दतले अभिजित रहँदै ५४ रन जोडे। त्यस्तै, मोहम्मद हाफीजले ३१ रन बनाउँदा मोहम्मद रिजवानले १५ रन जोडे।
बलिङतर्फ स्कटल्यान्डका क्रिस ग्रिभ्सले २ तथा हम्जा ताहिर र सफ्यान शरिफले १र१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको स्कटल्यान्डका लागि रिची बेरिङ्टनले सर्वाधिक ५४ रन बनाउँदा जर्ज मुन्सेले १७ र माइकल लिस्कले १४ रन जोडे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
पाकिस्तानका शदाब खानले २ तथा शाहीन शाह अफ्रिदी, ह्यारिस राउफ र हसान अलीले समान १र१ विकेट लिए।
प्रतियोगितामा समूह १ बाट इङ्ग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन्। यस्तै, समूह २ बाट पाकिस्तान र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरेका हुन्।
सेमिफाइनलको पहिलो खेलमा इङ्ग्ल्याण्ड र न्यु जिल्यान्ड भिड्नेछन् भने दोस्रो खेलमा पाकिस्तान र अष्ट्रेलिया आमनेसामने हुनेछन्।
जारी प्रतियोगितामा भारत, वेस्ट इन्डिज तथा श्रीलंकाजस्ता टोलीको प्रदर्शन सन्तोषजनक रहेन। दक्षिण अफ्रिका यो पटक पनि अनलक्की टोली बन्यो। समूह चरणका चार खेल जिते पनि नेट रनरेटमा अष्ट्रेलियासँग पछि परेपछि दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरियो।
श्रीलंकाले जारी प्रतियोगितामा पाँचमध्ये दुई खेलमा मात्र जित हासिल गर्यो। वेस्ट इन्डिजले एक खेलमा मात्रै जित निकाल्न सक्यो। बंगलादेशले समूह चरणका पाँचै खेलमा हार ब्यहोर्यो। सुपर १२ मा बंगलादेश अंकविहीन नै बन्यो।
यस्तै, समूह चरणका चार खेल खेलेको भारतले दुई खेलमात्र जितेको छ। अब अन्तिम खेल नामिबियासँग हुनेछ। अफगानिस्तानले दुई खेलमा मात्रै जित निकाल्यो। स्कटल्याण्डले पाँचै खेलमा हार ब्यहोर्दै अंकविहीन बन्यो।