गृहपृष्ठ Featured भरतपुर सबस्टेसनका दुई वटै ट्रान्सफर्मर सञ्चालनमा

भरतपुर सबस्टेसनका दुई वटै ट्रान्सफर्मर सञ्चालनमा

काठमाडौँ : चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी सबस्टेसनका दुई वटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । ट्रान्सफर्मर पूर्ण रुपमा सञ्चालनमा आएपछि नेपाल विद्युत प्राधिकरणले भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतबार सााझबाट विद्युत आपूर्ति गरेको छ ।

सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमध्ये एउटामा कात्तिक १३ र अर्कोमा १६ गते समस्या आएको थियो । प्राधिकरणले बिग्रिएका ट्रान्सफर्मरलाई हटाएर सबस्टेसनमा जगेडामा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरेको हो ।

एउटा ट्रान्सफर्मर ३६ घण्टापछि जडान गरी घरायसी उपयोगका लागि विद्युत आपूर्ति गरिएको थियो । कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२।५ एमभीए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी अर्को पनि आइतबार सााझबाट सञ्चालनमा ल्याइएको हो ।

सबस्टेसनको क्षमता अब ४५ एमभीए रहेकोले औद्योगिक सहितका सबै ग्राहकलाई विद्युत आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्र भरतपुरका प्रमुख राजीव कुमार सिंहले बताए । सिंहका अनुसार आापटारीस्थित अर्को १३२/११ केभीको सबस्टेसनमा १५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान सुरु गरिएको छ । उक्त सबस्टेसनबाट विद्युत आपूर्तिका लागि तीन वटा फिडर निकालिसकिएको छ ।

तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोली मर्मत स्थलमा खटिएको थियो ।

सम्बन्धित् समाचार