काठमाण्डौ : कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतको प्राङ्गणमा आज सोमवार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरूले प्रधानन्यायाशीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरूको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताए ।
नेपाल बार एसोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरूले आन्दोलन जारी राख्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरूको आन्दोलनको सामना गर्न तयार रहन चेतावनी दिनुभयो ।
उपाध्यक्ष भट्टराईले भन्नुभयो, ‘हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो । कुनै पनि हालतमा नेपाल बार एसोसिएशन यो मागबाट बाहिरिने वाला छैन । नेपाल बार ब्याक हुनेवाला छैन । र देशभरका कानुन व्यवसायीहरू आन्दोलित हुनुपर्ने अवस्था आयो भने त्यो परिस्थितिको सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्नेछ ।’
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको स्पष्ट पार्नुभयो । उहाँले न्यायपालिकालाई सङ्कटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताउनुभयो ।








