काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताएका छन् । उनले काँग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको बताए ।
‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन,’ सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा सिंहले भने,‘पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन ।’
काँग्रेसमा नेतृत्व परिवर्तनका लागि मिसन र भिजनका साथ आफू प्रस्तुत भएको बताए । सिंहले आफूसँग काँग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरु रहेको बताए ।
क्षणिक लाभका लागि पार्टी र देशको भविष्य बर्बाद हुनबाट जोगाउन आग्रह समेत गरे । ‘बेथितिबाट काँग्रेस र देश चल्दैन,’ सिंहले भने,‘ पदको लोभ नगर्नुहोस्, पैसाको क्षणिक लाभ नहेर्नुहोस्, भविष्य हेर्नुहोस् । छोरा नाति पनातिको भविष्य हेर्नुहोस् । राम्रो नेता चुनेर पठाउनुहोस् । काँग्रेस बचाउनुहोस् ।’
काँग्रेस कमजोर हुँदा देश र लोकतन्त्र नै कमजोर हुने तर्क गरे ।








