काठमाडौं : स्रोत नखुलेको २० लाख रुपैयाँसहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगंज महानगरपालिका–८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँसहित बारा विश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने ३१ वर्षीय चन्दनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।
उनीमाथि बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।