काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिनुभएको छ । आज बुधवार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताउँदै प्रजातन्त्रको विरुद्धमा नलाग्न चेतावनी दिनुभएको हो ।
उहाँले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिनुभयो । प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै नागरिक भएको स्मरण गराउनुभयो ।
उहाँले निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँदलीरहित हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई नागरिकप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संविधानका केही कुरामा आफ्नो पनि असहमति रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजाने बताउनुभयो ।