रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तानलगायतका प्रमुख देशहरू आज अफगानिस्तानमाथि छलफल गर्न दिल्ली क्षेत्रीय सुरक्षा संवादमा सहभागी भएका छन्। चीन र पाकिस्तान सहभागी नरहेको सो छलफलमा अफगानिस्तानमा तालिवानको कब्जाबाट उत्पन्न हुने चुनौती, विशेषगरी यसका सीमाभित्र र बाहिर आतंकवाद, कट्टरपन्थी तथा चरमपन्थ, सीमापार आन्दोलन, लागुऔषध उत्पादन र ओसारपसारलगायतका चुनौतीहरू सामना गर्न क्षेत्रीय सुरक्षा संरचनामाथि छलफल हुनेछ।
साथै अमेरिका र त्यसका सहयोगीहरूले छोडेका हतियार र उपकरणहरूको सम्भावित प्रयोगबारे पनि विचार विमर्श गरिने बताइएको छ। इन्डियन एक्सप्रेसका अनुसार बैठकमा रियर एडमिरल अली समखानी (इरान), निकोलाई पी पात्रुसेभ (रसिया), करिम मासिमोभ (काजाकिस्तान), मारात मुकानोविच इमान्कुलोभ (किर्गिस्तान), नसरुल्लो रहमतजोन महमुदजोडा (ताजिकिस्तान), चर्यामिरात काकाल्यायेभ्मेन ९माक्ल्यायेभ्मेन भिक्टोरमेन० र म्यानमार र उज्वेकिस्तानको सहभागिता रहनेछ।
उच्च सुरक्षा अधिकारीहरूले बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त रूपमा भेट्ने कार्यक्रम छ। रिपोर्टका अनुसार केही भ्रमण गर्ने प्रतिनिधिहरू अमृतसर र आगरा भ्रमणका लागि पनि जानेछन्। अफगानिस्तानसँग सम्बन्धित सुरक्षा चिन्ताहरू दिल्लीको दिमागमा हावी भएकाले सम्मेलन तालिबानशासित देशको ‘वर्तमान अवस्था र भविष्यको दृष्टिकोण’ मा आधारित हुनेछ। इन्डियन एक्सप्रेसले स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘बहुपक्षीय तत्व बाहेक, द्विपक्षीय बैठकहरू पनि हुनेछन्।’








