काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशन आयोजनका लागि पार्टी सदस्यले १०० रुपैयाँ दिनुपर्ने भएको छ। महाधिवेशन मूल व्यवस्थापन समितिको बुधवार च्यासलमा बसेको बैठकले पार्टी सदस्यबाट १०० रुपैयाँ संकलन गर्ने निर्णय गरेको समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए। हरेक पार्टी सदस्यले सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्नुपर्ने उनले बताए।
‘आजै देखि सुरु भइसकेको छ। सय रुपैयाँ जम्मा गर्नका लागि खाताको व्यवस्था गरेका छौँ,’ उनले भने।
एमालेले आफ्नो पार्टीको साढे ७ लाख पार्टी सदस्य रहेको दाबी गरिरहेको छ। पार्टी सदस्यबाट महाधिवेशनका लागि करिब ७ करोड ५० लाख रुपैयाँ संकलन हुने भएको हो।
बुधवारको बैठकले आयोजनका लागि रकम संकलन गर्ने निर्णयका साथै महाधिवेशनका लागि गठित समितिहरुको संख्या र नामलाई निश्चित गर्ने निर्णय समेत गरेको छ। पाण्डेले सबै समितिले कार्ययोजना तयार पारेर त्यसलाई अनुमोदन गर्ने काम भएको जानकारी दिए।
‘आजै प्राविधिक टोली चितवन हिँडेको छ। भोलि हामी पनि जान्छौँ। हल र खुला सत्रको व्यवस्थापनको कामका लागि,’ उनले भने।
एमालेको १० औं महाधिवेशन चितवनमा मंसिर १०,११ र १२ गते हुँदैछ। त्यसैको तयारी स्वरुप एमालेले २३ सदस्य रहेको मुल व्यवस्थापन समिति गठन गरेको छ। समितिले महाधिवेशनलाई व्यवस्थिति गर्नका लागि विभिन्न उपसमितिहरुसँग छलफल गरिरहेको छ।








