काठमाडौँ : नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको आरोप लगाएका छन् । एमाले सूर्यविनायक नगरपालिका–५ कमिटीले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले समय आएपछि त्यसको समीक्षा गर्ने बताए ।
उनले भने, ‘एमालेलाई धमिलो बनाउने र त्यो पार्टीको आन्तरिक जीवनलाई अस्तव्यस्त बनाउने काममा प्रचण्डलगायतका व्यक्तिसँगको एकता र प्रवेशले हामीलाई कहीँ न कहीँ समस्या पैदा गर्यो, जसका कारण बहुमतको सरकार जोगाउन सकेनौँ ।’
पार्टी एकताको तीन वर्षको अवधिमा कम्युनिष्टभित्र धेरै उतारचढाव पार गर्दै एमाले अहिलेको ठाउँमा आइपुग्यो भन्दै उनले यो समयमा एमालेको जीवनमा केही तिक्तताको सामना गर्नुपरेको, केही अत्यन्त बेठीक र नमिठा अनुभूतिको सामना गर्नुपरेकाले अब विगतबाट पाठ सिक्दै एमालेलाई एकताबद्ध गर्दै अझै माथि उठाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले भक्तपुरमा आएको विकासको लहर देखेर आत्तिएकाले विकास रोक्न खोजेको भन्दै उनले विकास नरोकिने दाबी गरे ।








